काठमाडौं । भारत-बंगलादेशबीच पछिल्लो समय उत्पन्न तिक्तताका कारण माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट उत्पादन हुने विद्युत् बंगलादेश निर्यात अनिश्चित भएको छ ।
९०० मेगावाट क्षमताको अपर कर्णालीबाट ५०० मेगावाट विद्युत् बंगलादेशले अब आयात नगर्ने भएको बंगलादेशको दैनिक डेली अब्जर्भरले जनाएको छ ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार त्यहाँको अन्तरीम सरकारले विशेष अधिकार ऐनअन्तर्गत पूर्ववर्ती सरकारले गरेका सबै सम्झौता निलम्बन गर्ने निर्णय गरेपछि नेपालबाट बिजुली आयातसम्बन्धी सम्झौता अन्योलमा परेको हो ।
बंगलादेशका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले अन्तरिम सरकार पूर्ववर्ती अवामी लिग नेतृत्त्वको सरकारले गरेका सम्झौताहरू रद्द गर्ने मनस्थितिमा रहेकाले अपर कर्णालीबाट उत्पादित बिजुली आयात गर्न चासो नदेखाएको उल्लेख गरेका छन् ।


