बैंकहरूले गत जेठ १९ गतेदेखि कुसनको रूपमा राष्ट्र बैंकमा राख्नुपर्ने रकम बढायो। सिद्धान्ततः बैंकहरूले कुसनको रूपमा आफ्नो निक्षेपको चार प्रतिशत बराबर रकम राष्ट्र बैंकमा नगदै राख्नुपर्छ।
निक्षेप फिर्ता लिन आउनेहरू बढेमा तत्कालै निक्षेप फिर्ता पाउन सकुन् भनेर यसरी नगदै राखिएको हुन्छ। यसरी राखिने पैसालाई अनिवार्य नगद मौज्दात भनिन्छ।
अनिवार्य नगद मौज्दातबाहेक त्यस्तो समस्याको अवस्थामा सहज होस् भनेर थप १६ प्रतिशत बराबरको रकम बैंकहरूले सरकारी ऋणपत्र लगायतमा लगानी गरेका हुन्छन्। जसले गर्दा यस्तो समस्याको समयमा त्यो ऋणपत्र तत्कालै बिक्री गर्न सकिन्छ र बैंकले तत्कालै निक्षेपकर्तालाई पैसा फिर्ता दिन सक्छ।


