वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४ सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १५ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ ।
चालु आवको ११ महिनामा पाँच अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्वल्ड मोटरसाइकल आयातबाट रु पाँच अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छभने रु दुई अर्ब ६३ करोडका एक हजार ३०७ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यस्तै सोही अवधिमा रु एक अर्ब ८० करोडका आठ सय ३९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् ।

