नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ७० खर्ब भन्दा बढीको निक्षेप संकलन गरेका छन् । केन्द्रीय बैंकको असार १ गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ७० खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
यो अवधिमा वाणिज्य बैंकहरुले मात्रै ६२ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन भने ७ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा निकै कम रहेको छ । जसले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना भइरहेको छ । जसले गर्दा केन्द्रीय बैंकले बजारबाट नियमित जसो रकम प्रशोचन गरिरहेको छ । आज (बुधबार) मात्रै केन्द्रीय बैंकले बजारबाट ९० अर्ब रुपैयाँ उठाउँदैछ ।


