जनकपुर — नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले मधेशको अर्थतन्त्र उकास्न थुप्रै काम भइरहेको बताएका छन् । उनले पूर्वाधारका क्षेत्रमा भइरहेका कामले मधेशको अर्थतन्त्र 'बुम' हुने समय आइरहेको बताए ।
‘मधेशको अर्थतन्त्र चलायमान हुने थुप्रै योजना निर्माणाधीन छ,’ नेपाल राष्ट्र बैंक जनकपुरले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा गर्भनर पौडेलले भने, ‘आर्थिक क्षेत्रमा देखिएका समस्या हटाउन हरसम्भव प्रयास भइरहेको छ ।’ उनले मधेशको अर्थतन्त्र उकासिने चार कारण पनि बताए । पहिलो- कञ्चनपुर–पथलैया चार लेन राजमार्ग, दोस्रो- काठमाडौं–निजगढ द्रुतमार्ग, तेस्रो- मिर्चैया–घुर्मी–लुक्ला सडकमार्ग र चौथौ- हुलाकी राजमार्गको पूर्णतासँगै मधेशको अर्थतन्त्र उकासिने उनले दाबी गरे ।

