काठमाडौं । मुलुकभित्र पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठिरहेका बेला सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा बनेको सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति सरकार बनेको १ वर्ष बित्न लाग्दासम्म गुपचुप राखेको छ ।
संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको १ वर्ष बित्न लाग्दा प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । अहिलेसम्म प्रधानमन्त्रीसहित प्रायः सबै मन्त्रीको सम्पत्ति विवरण गुपचुप राखिएको छ ।
- सरकार बनेको १ वर्ष बित्न लाग्दासमेत सार्वजनिक गरिएन
- कृष्णप्रसाद भट्टराईबाटै भएको थियो सम्पत्ति सार्वजनिक गर्ने परम्पराको थालनी
- विगतमा ओली नै प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति सार्वजनिक
- अघिल्लो दाहाल नेतृत्वको सरकारका मन्त्रीले सार्वजनिक गरेका थिए सम्पत्ति विवरण
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क)मा सम्पत्ति विवरणसम्बन्धी व्यवस्था छ । ऐनमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले र यो दफा प्रारम्भ हुँदाका बखत सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले यो दफा प्रारम्भ भएको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नुपर्छ ।’


