भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इण्डिया’ (आरबिआई) ले शुक्रबार अप्रत्याशित रूपमा प्रमुख नीतिगत ब्याजदर कटौती गर्दै आर्थिक वृद्धिमा प्राथमिकता दिएको छ। पछिल्लो मौद्रिक समीक्षामार्फत आरबिआईले रेपो दर ५० आधार अङ्कले घटाएर ५।५ प्रतिशतमा झारेको छ, जुन अधिकांश विश्लेषकको २५ आधार अङ्क कटौतीको अपेक्षाभन्दा दोब्बर हो।
यो निर्णय आरबिआईको लगातार तेस्रो दर कटौती हो। मार्चमा समाप्त आर्थिक वर्षमा भारतको वृद्धि दर सुस्त देखिएको सरकारी तथ्याङ्क आएको एक हप्तामै यस्तो निर्णय आएको हो। विश्लेषकहरूका अनुसार जनवरी–मार्च त्रैमासिकमा सात दशमलव चार प्रतिशतको अपेक्षाभन्दा राम्रो वृद्धि देखिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लादिएको व्यापक भन्सार शुल्कले भारतको निर्यातमूलक अर्थतन्त्रमा जोखिम बढाएको छ।

