वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् रु ५७ अर्ब ३० करोड बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् ।
चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्र रु एक खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा रु ४५ अर्ब ७९ करोड रहेको छ ।

