विराटनगर/वीरगञ्ज । प्रशोधित भटमास र सूर्यमुखी तेलका कारण ह्वात्तै बढेको नेपालको समग्र निकासी भारतको एक निर्णयले फेरि स्वात्तै घट्ने जोखिममा परेको छ ।
भारतले अन्य देशबाट आयात हुने कच्चा भटमास, सूर्यमुखी र पाम तेलमा लाग्ने आधारभूत भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेपछि नेपालबाट प्रशोधित तेलको निर्यात प्रभावित हुने देखिएको हो । अन्य शुल्कसमेत जोडेर भारतमा अब कच्चा खानेतेल आयातमा लागू हुने भन्सार दर १६ दशमलव ५ प्रतिशत हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यसअघि भारतले आधारभूत भन्सार दर र अन्य शुल्क मिलाएर सार्कबाहेक अन्य देशबाट आयात हुने प्रशोधित खानेतेलबाट २७ दशमलव ५ प्रतिशत राजस्व असुल्थ्यो ।


