नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई ४ लाख २५ हजार भारतीय रूपैयाँसम्म नगद ल्याउन बाटो खोल्ने बजेटको नयाँ व्यवस्थाले पर्यटन उद्योगीहरू उत्साहित भएका छन्। उनीहरूले आफ्नो वर्षौंदेखिको माग सरकारले पूरा गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन्।
आर्थिक वर्ष २०८२/८३ को बजेटको बुँदा नम्बर ४०५ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने र त्यसभन्दा बढी रकम स्वघोषणा गरी ल्याउन सकिने व्यवस्थालाई सहजीकरण गर्ने घोषणा गरेका छन्।
‘हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने र सोभन्दा बढी भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिनेछ,’ बजेटमा उल्लेख छ।






