काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । मंगलबार प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएकाले राजीनामा दिनुपर्ने माग गर्दै अवरोध गरेपछि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो। आज पनि माओवादी केन्द्र, रास्वपा, राप्रपाले विरोध गर्ने तयारी गरेका छन्।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची छ। झन्डै एक वर्षको रस्साकस्सीपछि राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पारित गरेको छ। राज्य व्यवस्था समितिले निजामती सेवासम्बन्धी विधेयकमा सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै संवैधानिक र राजनीतिक नियुक्ति लिन पाउने समय (कुलिङ पिरियड) को व्यवस्था गरेको छ। समितिको यो निर्णयले निजामती नेतृत्वमा हलचल ल्याइरहेको छ। कर्मचारीलाई संवैधानिक निकाय, राजदूत लगायतका उच्च पदमा नियुक्त गर्ने परिपार्टीले गर्दा स्वार्थ बाझिने अवस्था आएको छ।


