१२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने तयारी गरेको छ । सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर दोहोरो अंकमा पुर्याउने तयारी भएको हो ।
सरकारलाई आम्दानी बढाउन दबाब परेका कारण पूँजीगत लाभकर बढाउने तयारी भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । ‘आगामी आर्थिक वर्षदेखि घरजग्गा र सेयर कारोबारीले तिर्नुपर्ने पूँजीगत लाभकर १० प्रतिशत पुर्याउने तयारी छ,’ स्रोतले भन्यो, ‘अल्पकालीन र दीर्घकालीन सबै लगानीकर्ताका लागि एउटै दर कायम राख्नेबारे छलफल भएको छ।’


