काठमाडौं । सरकारले रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन तीन वर्षभित्र कार्यान्वयनमा लैजान ४०८ बुँदे कार्ययोजना तयार पारेको छ । आयोगले तयार गरेका विषयहरु कार्यान्वयन गर्न कार्ययोजनामा निकायसमेत तोकिएको छ ।
मन्त्रिपरिषद्को गत वैशाख २ को निर्णयबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालयका राजस्व सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) सदस्य रहने गरी समिति गठन भएको थियो । उक्त समितिलाई पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदनले दिएका सुझावहरू कार्यान्वयनका लागि कार्ययोजना तयार गर्ने जिम्मेवारी दिइएको थियो ।
सोही समितिले तयार पारेको कार्ययोजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । कार्ययोजनामा ३ वर्षभित्रै उक्त प्रतिवेदन कार्यान्वयनमा लगिने उल्लेख छ । कार्ययोजनामा मौद्रिक नीतिसम्बन्धी काम राष्ट्र बैंकले गर्ने उल्लेख छ ।


