साउनदेखि वैशाखसम्म निर्यात व्यापार ७३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोडको वस्तु निर्यात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ७२.७१ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो। भारतले तेलको भन्सार दरमा समायोजन गर्दा विगत केही महिनादेखि नेपालबाट सोयाविन तेलको निर्यात बढेका कारण समग्र निर्यात व्यापारमै वृद्धि देखिएको हो ।
चालु आर्थिक वर्षको १० महिनामा देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिमा करिब ७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।


