नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने सहमति, को हुन् डा. विश्व पौडेल ?


नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने सहमति, को हुन् डा. विश्व पौडेल ?

काठमाडौं - राष्ट्र बैंकको गभर्नर पदको लामो अनिश्चितता अन्त्य हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान लामो समयसम्म चलेको वार्तापछि राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति जुटेको छ।

प्रा.डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् र यसअघि राष्ट्र बैंकको गभर्नर छनोटका लागि गठित सिफारिस समितिमा पनि सदस्य थिए। तर, कांग्रेसले उनलाई गभर्नरको उम्मेदवारका रूपमा अघि सारेपछि उनले समितिबाट राजीनामा दिएका थिए।

यो नियुक्तिले राष्ट्र बैंकको नेतृत्वमा नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ। आगामी दिनमा पौडेलले मौद्रिक नीति सन्तुलन, बैंकिङ क्षेत्रमा सुधार, डिजिटल बैंकिङको प्रवर्धन र विदेशी मुद्रा व्यवस्थापन जस्ता चुनौतीहरू सामना गर्दै नेपालको आर्थिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्नेछन्।

यसअघि लामो समयसम्म चलेको राजनीतिक विवाद र रस्साकस्सीले अर्थतन्त्रमा अनिश्चितता सिर्जना गरेको थियो। तर, अहिलेको सहमतिले वित्तीय क्षेत्रको स्थिरता र नीतिगत निरन्तरता सुनिश्चित हुने विश्वास जगाएको छ।

नेपालका वित्तीय क्षेत्रका विज्ञहरू यो नियुक्तिलाई सकारात्मक कदमका रूपमा लिइरहेका छन् र प्रा.डा. पौडेलको अनुभव र विशेषज्ञता राष्ट्र बैंकलाई मजबुत बनाउने आशा व्यक्त गरेका छन्।

 

को हुन् डा. विश्व पौडेल?

डा. विश्व पौडेल एक चर्चित अर्थशास्त्री हुन्, जसलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका नजिकका विश्वासपात्रका रूपमा लिइन्छ। देउवा प्रधानमन्त्री भएका बेला उनी २०७८ साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए।

पौडेलको देउवाकी पत्नी तथा नेतृ आरजु राणासँग पनि व्यक्तिगत रूपमा निकट सम्बन्ध रहेको बताइन्छ। ललितपुरस्थित आरजु राणाद्वारा सञ्चालित युलेन्स स्कूलमा डा. पौडेलले सन् २०१९ देखि २०२१ सम्म बोर्ड अफ ट्रस्टीको सदस्यका रूपमा काम गरेका थिए।

उनी लामो समयदेखि अर्थतन्त्र, नीति विश्लेषण र इतिहासबारे लेखन, अध्ययन र अनुसन्धानमा सक्रिय छन्। नेपालको आर्थिक इतिहासबारे गहिरो जानकारी राख्ने उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा लेख प्रकाशन गर्दै आएका छन्।

डा. पौडेलले अमेरिकी युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि (PhD) गरेका हुन्। त्यसअघि उनले अमेरिकामै स्नातकोत्तर तह अध्ययन गरेका थिए भने चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेका थिए।

उनको अनुभव क्षेत्र पनि फराकिलो छ। उनले सानिमा बैंकमा निर्देशक, विश्व बैंकका कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) मा अर्थशास्त्रीको रूपमा काम गरिसकेका छन्।