काठमाडौं : ट्रम्प प्रशासनले अमेरिकाबाट विदेश पठाइने रेमिट्यान्समा ५ प्रतिशत कर लगाउने योजना बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख प्राथमिकतामा परेको विधेयकमा, ग्रीन कार्ड र एचवानबी भिसा भएका व्यक्तिहरु समेत लाखौं मानिसहरुलाई समेट्ने गरी रेमिट्यान्स ट्रान्सफरमा ५ प्रतिशत शुल्क लगाउने प्रस्ताव गरिएको छ ।
विश्व बैंकका अनुसार काम गर्न गएको मुलुकबाट आफ्नै मुलुकतर्फ पठाइने रकमलाई रेमिट्यान्स भनिन्छ । "द वन, बिग, ब्युटिफुल बिल" नामक प्रस्तावित विधेयकअन्तर्गतको एक व्यवस्थामा भनिएको छ, “यो व्यवस्थाले रेमिट्यान्स ट्रान्सफरहरुमा ५ प्रतिशत अन्तःशुल्क लगाउनेछ, जुन उक्त ट्रान्सफर गर्ने व्यक्तिले तिर्नुपर्नेछ ।” यो व्यवस्था पठाउने व्यक्ति प्रमाणित अमेरिकी नागरिक नभएसम्म सबै अन्तर्राष्ट्रिय रेमिट्यान्सहरुमा लागू हुने बताइएको छ ।


