काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले ४ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा कमाएका छन् । १४ जीवन बीमा कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरुको यस वर्षको तेस्रो त्रैमाससम्मको खुद नाफा गतवर्षको सोही अवधिको तुलनामा ११ दशमलव ९३ प्रतिशतले बढी हो ।
गतवर्ष तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुको खुद नाफा ४ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी थियो । गतवर्षको तुलनामा यस वर्ष १४ जीवन बीमा कम्पनीमध्ये २ ओटाको मात्र खुद नाफामा कमी आएको छ । बाँकी १२ कम्पनीको खुद नाफा बढाएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीले यस वर्ष पोहोरको तुलनामा ३७ दशमलव १० प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सले ३३ दशमलव ३६ प्रतिशत कम खुद नाफा कमाएका छन् ।
सबैभन्दा बढी प्रतिशत खुद नाफा घटेको राष्ट्रिय जीवन बीमा कम्पनीले गतवर्ष २ करोड ४५ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेकोमा यस वर्ष त्यस्तो रकम १ करोड ५४ लाख रुपैयाँभन्दा बढी मात्र छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीले कम आम्दानी गरेकाले नाफामा असर परेको हो ।


