काठमाडौँ, वैशाख ३० गते । बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६१ अर्ब तीन करोड अर्थात् ७.१ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले चालु आव २०८१/८२ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब २२ अर्ब २१ करोड अर्थात् ४.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ ।
गत चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह ७.४ प्रतिशतले, विकास बैङ्कको ४.६ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ६.४ प्रतिशतले बढेको छ । ...


