आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल


आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्त्व दिने बताएका छन् । 

'केही समय अघिदेखि आर्थिक सुधार थालेका छौँ । त्यसबाट सकारात्मक नतिजाहरू पाइरहेका छौँ । आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्त्व दिनेछौँ,' आगामी बजेटबारे विकास साझेदारहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, 'अध्यादेशबाट गरिएका कानुन संशोधनहरू, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरू, विभिन्न नीति तथा निर्णयहरू नीतिगत सुधारका महत्त्वपूर्ण पक्षहरू हुन् ।'

 

अर्थमन्त्री पौडेलले विकास साझेदारहरूलाई आगामी बजेट विशेषगरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी गराए । स्रोत सुनिश्चितता हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा मितव्ययिता, खर्च कटौती र सीमित साधन स्रोतलाई अत्यधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने बताए ।

'वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गर्ने, त्यसको सही र प्रभावकारी सदुपयोग गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ,' अर्थमन्त्री पौडेलले भने, 'पुँजीगत खर्च र त्यसमा देखा परेका समस्या समाधानका लागि पनि ध्यान दिएका छौँ ।'

अर्थ सचिव घनश्याम उपाध्यायले आगामी बजेटले आर्थिक अनुशासन र निजी क्षेत्रको आत्मविश्वास वृद्धिलाई प्राथमिकतामा राख्ने बताए । ...

Read More