काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरी आगामी आर्थिक वर्षको बजेट तयार भइरहेको बताएका छन्।
सोमबार सिंहदरबारमा आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि नेपाल चेम्बर अफ कमर्सका तर्फबाट प्रस्तुत सुझाव ग्रहण गर्दै पौडेलले अर्थतन्त्रको सिथिलता चिर्न वर्तमान सरकार सुरुदेखि नै गम्भीर भएको भन्दै अव अर्थतन्त्रलाई बलियो बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइने बताए।
उनले सरकारको प्रयासका कारण आर्थिक सूचकहरू सकारात्मक लयतर्फ अघि बढेको उल्लेख गरे। निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरी आयोगको प्रतिवेदन आइसकेको अवस्थामा त्यसका सुझावका आधारमा आगामी नीति तय गरिने उनले बताए। निजी क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएको भन्दै पौडेलले चेम्बरका सम्भव र उपर्युक्त भएसम्मका सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे।


