काठमाडौं : ९४ वर्षीय अर्बपति लगानीकर्ता वारेन बफेटले सन् २०२५ को अन्त्यमा बर्कसायर ह्याथवेको प्रमुख कार्यकारी अधिकृत पद (सीइओ) बाट राजीनामा दिने घोषणा गरेका छन् । शनिबार ओमाहामा भएको कम्पनीको सेयरधनीहरुको वार्षिक बैठकमा बफेटले उक्त घोषणा गरेका हुन् । बैठकको अन्त्यमा बोल्दै, बफेटले कम्पनीको बोर्डले चाँडै नै यसलाई औपचारिकता दिने कुरा स्पष्ट पनि पारे ।
बफेटले भने, 'भोलि हामी बर्कसायरको बोर्ड बैठक गर्दैछौं, र हामीसँग ११ जना निर्देशकहरु छन् । २ निर्देशक, मेरा छोराछोरीहरु हावी र सुसीलाई म त्यहाँ के कुरा गर्न गइरहेको छु भन्ने थाहा छ । बाँकी सबैलाई यो समाचारकोरुपमा आउनसक्छ, तर मलाई लाग्छ कि वर्षको अन्त्यमा ग्रेग कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्ने समय आइसकेको छ ।'


