काठमाडौँ, वैशाख १८ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य घटाइएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। त्यस्तै, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको छ। एलपी ग्यास (खाने ग्यास)को मूल्य पनि घटेको छ, जसअनुसार प्रति सिलिण्डर १५ रुपैयाँले सस्तो भएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ। घटेको मूल्य आजै रातिदेखि देशभर लागू हुनेछ।


