चैत महिनामा सामूहिक लगानी कोषहरूको साधारण र मुद्दती दुवै निक्षेप बढेको छ। चैत महिनामा प्रकाशित भएको कोषहरूको मासिक विवरणमा दुवै निक्षेप बढेको देखिएको हो। अहिले दोस्रो बजारमा ४५ बन्द मुखी कोषहरू सूचीकृत छन्।
४५ बन्दमुखी कोषहरूको चैतमा साधारण निक्षेप औसत १०.०१ प्रतिशतले बढेको छ। फागुनमा उनीहरूको औसत निक्षेप सात अर्ब ७२ करोड रहेकोमा चैतमा उक्त निक्षेप बढेर आठ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। जुन १०.०१ प्रतिशतको वृद्धि हो। साधारण निक्षेपमा १० प्रतिशतको वृद्धि देखिँदा मुद्दती निक्षेपमा त्यो भन्दा बढी वृद्धि छ। चैतमा मुद्दती निक्षेपको वृद्धि १५.८४ प्रतिशत छ। गत फागुनमा कोषहरूको औसत मुद्दती निक्षेप एक अर्ब ८६ करोड रुपैयाँ रहेकोमा चैतमा उक्त निक्षेप बढेर दुई अर्ब १६ करोड रुपैयाँमा उक्लिएको छ। जुन फागुनको तुलनामा १५.८४ प्रतिशतको वृद्धि हो।
चैतमा सबैभन्दा बढी साधारण निक्षेप बढाउनेमा सनराइज फोकस इक्विटी फण्ड छ। उसको साधारण निक्षेप १०२२.७५ प्रतिशतले बढेको छ। फागुनमा उसको साधारण निक्षेप ९४ लाख रुपैयाँ मात्रै रहेकोमा चैतमा उक्त रकम बढेर १० करोड ६१ लाख रुपैयाँ पुगेको छ। फण्डले चैतमा नन् लिष्टेड शेयरमा गर्ने लगानी १८.५१ प्रतिशतले घटाएको छ। जसले गर्दा उसको साधारण निक्षेप बढेको देखिएको हो। तर यही अवधिमा सबैभन्दा धेरै साधारण निक्षेप प्रभु सेलेक्ट फण्डको घटेको छ। उसको साधारण निक्षेप ८९.३६ प्रतिशतले घटेको छ। गत फागुनमा १३ करोड रुपैयाँ निक्षेप रहेको फण्डको चैतमा निक्षेप घटेर एक करोड ४६ लाख रुपैयाँमा झरेको छ। चैतमा उसले सूचीकृत शेयरमा गर्ने लगानी ७ प्रतिशतले बढाएको कारण उसको साधारण निक्षेप घटेको हो। ४५ कोषहरूमा १९ कोषहरूले साधारण निक्षेप बढाउँदा बाँकीले भने घटाएका छन्।


