ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स देशका वरिष्ठ कूटनीतिज्ञहरू ब्राजिलमा भेट्दै


ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स देशका वरिष्ठ कूटनीतिज्ञहरू ब्राजिलमा भेट्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिबाट उत्पन्न हुने खतराहरूको सामना गर्न संयुक्त मोर्चा प्रस्तुत गर्न ब्रिक्स देशका वरिष्ठ कूटनीतिज्ञहरू सोमबार ब्राजिलमा भेट्ने छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापक नयाँ करको प्रभावमा वृद्धिको पूर्वानुमान कटौती गरेपछि विश्व अर्थतन्त्रका लागि यो बैठक महत्त्वपूर्ण क्षणमा आएको हो ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित हालका अध्यक्ष ब्राजिलसहितका व्यापारिक समूहका कूटनीतिज्ञहरू जुलाई महिनामा हुने नेताहरूको शिखर सम्मेलनको पूर्वतयारीका रूपमा रियो डि जेनेरियोमा दुई दिनका लागि भेट्नेछन् ।

“मन्त्रीहरूले बहुपक्षीय व्यापार प्रणालीको केन्द्रीयता र महत्त्व पुनः पुष्टि गर्ने उद्देश्यले एक घोषणापत्रका लागि वार्ता गरिरहेका छन्”, ब्राजिलका ब्रिक्स प्रतिनिधि माउरिसियो लिरियोले शनिबार पत्रकारहरूलाई बताए ।

सन् २००९ मा यसको स्थापना भएदेखि यो समूह उल्लेखनीय रूपमा विस्तार भएको छ र अहिले इरान, इजिप्ट र संयुक्त अरब इमिरेट्सलाई यसले समावेश गर्दछ । यसले विश्वको जनसङ्ख्याको लगभग आधा र विश्वव्यापी कुल ग्राहस्थ्य उत्पादन (जिडिपी) को ३९ प्रतिशत समेट्छ ।

जनवरीमा ह्वाइट हाउसमा फर्किएपछि ट्रम्पले दर्जनौँ देशमा १० प्रतिशतको सामान्य भन्सार शुल्क लगाएका छन् तर चीनले धेरै उत्पादनमा एक सय ४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्दैछ । बेइजिङले अमेरिकी वस्तुहरूमा एक सय २५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।

Read More