के तपाईंले प्रयोग गरेको सिमकार्ड आफ्नै नाममा दर्ता छ? छैन भने, के के जोखिम आउन सक्छ ?


के तपाईंले प्रयोग गरेको सिमकार्ड आफ्नै नाममा दर्ता छ? छैन भने, के के जोखिम आउन सक्छ ?

डिजिटल युगमा सिमकार्ड अब केवल फोन कल वा इन्टरनेट चलाउने साधन मात्र नभई नागरिकको कानुनी पहिचानसँग जोडिएको महत्वपूर्ण माध्यम बन्न पुगेको छ। बैंक खाता सञ्चालनदेखि राष्ट्रिय परिचयपत्र (National ID) तयार पार्ने प्रक्रिया, सवारी चालक अनुमतिपत्र (License) को आवेदन, नागरिक एप (Nagarik App) मा दर्ता, बैंक तथा वित्तीय संस्था तथा सरकारी सेवामा OTP (One-Time Password) को प्रयोगसम्म सिमकार्ड अपरिहार्य भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यदि प्रयोगमा रहेको सिमकार्ड आफ्नै नाममा दर्ता छैन भने सरकारी सेवा लिने क्रममा समस्या आउन सक्छ। साथै, अरूको नाममा रहेको सिम प्रयोग गर्दा व्यक्तिगत डाटा सुरक्षामा समेत गम्भीर जोखिम देखिएको छ। यसले तपाईंलाई कानुनी जटिलतामा पनि पार्न सक्ने सम्भावना उच्च रहेको विज्ञहरूले चेतावनी दिएका छन्।

सिमकार्डको वास्तविकता जाँच गर्नका लागि *922# डायल गर्न सकिने व्यवस्था गरिएको छ। यदि प्रयोगमा रहेको सिम अन्य व्यक्तिको नाममा दर्ता भेटिएमा, नागरिकता लगायत आवश्यक कागजातहरू बोकी नजिकको नेपाल टेलिकम कार्यालयमा गई सिमकार्ड आफ्नो नाममा ट्रान्सफर गराउन उपभोक्तालाई आग्रह गरिएको छ। नयाँ सिम कार्ड खरिद गर्दा समेत आफ्नै नाममा दर्ता गर्न अनिवार्य गरिएको छ।

‘आजको डिजिटल युगमा सिमकार्ड तपाईंको पहिचान हो। त्यसैले सिमको स्वामित्व सुरक्षित राख्न अत्यन्त जरुरी छ,’ सम्बन्धित निकायले जनाएका छन्।
विशेषज्ञहरूले डिजिटल सेवा उपभोग गर्दा सिमकार्डकै आधारमा तपाईंको परिचय र पहुँच प्रमाणित गरिने भएकाले, आफ्नो सिम आफैंको नाममा दर्ता गराएर मात्र सुरक्षित डिजिटल भविष्य सुनिश्चित गर्न सकिने बताएका छन्।