काठमाडौं । भारत र बंगलादेशले एकअर्को मुलुकको अन्तरराष्ट्रिय व्यापारमा असर पर्ने गरी चालेको कदमबाट नेपालबाट बंगलादेशमा हुने बिजुली निर्यातमा अवरोध आउने आशंका उब्जिएको छ । नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली किनबेच सम्झौता भइसकेको छ ।
नेपालबाट बंगलादेश बिजुली निर्यात गर्दा भारतीय प्रसारण लाइन प्रयोग गर्नुपर्छ । तर, पछिल्लो समय सम्बन्ध चिसिएका भारत र बंगलादेश व्यापार युद्धतर्फ अग्रसर हुँदा नेपालले बंगलादेशमा गर्ने बिजुली निर्यातमा आशंका उब्जिएको हो ।
केही दिनअघि भारतले आफ्ना स्थल भन्सार नाका हुँदै तेस्रो देशमा सामान निर्यात गर्न बंगलादेशलाई दिइरहेको अनुमति खारेज गरेको थियो । त्यसको केही दिनपछि ढाकाले भारतका थुप्रै तथा नेपाल र भुटानका दुई थरी वस्तु आफ्नो मुलुकमा आयात गर्न प्रतिबन्ध लगाएको छ ।


