काठमाडौं : सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १ महिनामा करिब ९ अर्ब रुपैयाँले घटाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिना अर्थात चैत मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।
यसअघि, फागुन मसान्तसम्ममा २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ रहेको मुलुकको सार्वजनिक ऋण १ महिनाको अवधिमा ८ अर्ब ७७ करोड रुपैयाँले घटेको हो । चालु आर्थक वर्षको सुरुमा नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । त्यसयताको ९ महिना अर्थात चैत मसान्तसम्ममा थप २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ ऋण बढेको तथ्यांकले देखाएको छ ।


