जब कुनै पनि व्यक्ति, फर्म वा संस्थाले बैंक वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सक्दैन वा उसले दिएको चेक बाउन्स हुन्छ भने उसलाई कालो सूचीमा राखिँदै आएको छ। बैंक वित्तीय संस्थाको सिफारिसमा कर्जा सूचना केन्द्रले कालो सूचीमा राख्ने गरिरहेको छ।
पहिले कालो सूचीमा पर्नु भनेको निक्कै ठूलो अपराध गरेको जस्तो देखिने गरेकोमा अहिले भने कालो सूची सामान्य जस्तै बनिरहेको छ। किनकि हरेक दिन डेढ सय भन्दा बढी व्यक्ति,फर्म वा संस्था कालो सूचीमा परिरहेका छन्। कालो सूचीमा पर्नेको संख्या यति भयावह स्थितिमा बढिरहेको छ कि यस्तै गतिमा यो सूची बढ्दै जाने हो भने हरेक चार जना नेपालीमा एक नेपालीको नाम कालो सूचीमा नपर्ला भन्न सकिन्न। कर्जा सूचना केन्द्रका अनुसार अघिल्लो वर्ष कालो सूचीमा पर्नेको सङ्ख्या एक लाख १० हजार ६ सय २४ रहेको थियो। गत वर्ष गएको चैत ३१ सम्म उक्त संख्या बढेर एक लाख ६४ हजार ८ सय ६६ पुगेको छ। जुन गएको एक वर्षको अवधिमा मात्रै ५४ हजार २ सय ४२ थपिएको छ। यसैलाई हरेक दिनमा भाग लगाउँदा प्रत्येक दिन एक सय ४८ हुन आउँछ। अघिल्लो वर्ष ४८ हजार १ सय २२ थपिएका थिए। जुन गत वर्ष त्यो भन्दा बढी थपिएका छन्।
जसरी हरेक दिन कालो सूचीमा पर्नेको संख्या बढिरहेको छ। त्यसमा सबैभन्दा बढी भूमिका भने चेक बाउन्सका कारण देखिएको कर्जा सूचना केन्द्रका सूचना अधिकारी विजय कुँवरको भनाई छ। उनका अनुसार ७० प्रतिशत चेक बाउन्सका कारण कालो सूचीमा पर्ने गरेका छन् भने वाँकी ३० प्रतिशत मात्रै कर्जा तिर्न नसकेर कालो सूचीमा परेका हुन्। खासगरी कुनै पनि व्यक्ति वा फर्मले कसैलाई जारी गरेको चेक बाउन्स भएमा त्यस्ता चेक जारी गर्नेलाई निश्चित पटक पछि कालो सूचीमा राख्ने गरिएको छ। जस कारण पनि पछिल्लो समय कालो सूचिमा पर्नेको संख्या बढेको हो।


