२५ करोड तस्करी प्रकरण : विदेशी मुद्रा अपचलन कसुरमा स्थानीय माओवादी नेता र ट्रकमा चालकविरुद्ध मुद्दा दायर


२५ करोड तस्करी प्रकरण : विदेशी मुद्रा अपचलन कसुरमा स्थानीय माओवादी नेता र ट्रकमा चालकविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौंको टोखामा ट्रकबाट बरामद भएको करीब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा तस्करीको मामलामा दुई जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको छ । 

राजस्व अनुसन्धान विभागको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले स्थानीय माओवादी नेता नारायण पौडेललाई मुख्य अभियुक्त बनाई उक्त रकम भेटिएको ट्रकका चालक फुच्चे भनिने कुसाङ लामासमेत विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मंगलवार जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गराई २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको राजस्व अनुसन्धान विभागका अधिकारीहरूले बताएका छन् । विदेशी मुद्रा अपचलनसम्बन्धी कसूरमा अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले बताइन् ।

गत चैत ४ गते प्रहरीले काठमाडौंको टोखा नगरपालिका, वडा नम्बर २, झोरस्थित सडकमा प्रतिवादी लामाले चलाएको ना७ख १६५२ नम्बरको कन्टेनर (ट्रक) मा उक्त रकम फेला पारेको थियो । 

Read More