काठमाडौं – नेपाल राष्ट्र बैंकले तीन वरिष्ठ निर्देशकलाई कार्यकारी निर्देशकमा पदोन्नति गरेको छ। पदोन्नत हुनेमा चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेल रहेका छन्। तीनैजना निर्देशकहरू केन्द्रीय बैंकको मानव संशाधन विभागको सिफारिसमा अधिकृत प्रथम श्रेणीबाट अधिकृत विशिष्ट श्रेणीमा उक्लिएका हुन्।
चेत प्रसाद उप्रेती हाल गैर बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागमा कार्यरत छन् भने रोशन कुमार सिग्देल सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको जिम्मेवारी सम्हालिरहेका छन्। यस्तै, डा. रामशरण खरेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन्।
तीनैजनाको कार्यक्षमता, अनुभव र दीर्घकालीन सेवा मूल्याङ्कनका आधारमा पदोन्नति गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। यसपटकको बढुवा बैंकको उच्च व्यवस्थापन तहमा स्थायित्व र दक्षता अभिवृद्धिका लागि रणनीतिक रूपमा गरिएको मानिएको छ।


