काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क युद्धले विश्वभरको सेयर बजारमा उथलपुथल मच्चाएको समयमा चिनियाँ कम्पनीहरुले आफ्नै सेयरलाई सपोर्ट गर्नका स्रोत छुट्याउन थालेका छन् । चीनका सूचीकृत कम्पनीहरुले यस हप्ता कम्तिमा २० अर्ब युआन (२.७३ अर्ब डलर) बराबरको सेयर बाइब्याक गर्ने योजना सार्वजनिक गरेको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।
चीनका १०० भन्दा बढी सूचीकृत कम्पनीहरुले सेयर बाइब्याक गर्ने घोषणा गरेका छन् । जसमा चीनको सरकारी तेल कम्पनी पेट्रोचाइना र विश्वको सबैभन्दा ठूलो उपकरण निर्माता माइडिया ग्रुप पनि समावेश छन् । यस त्रैमासकमा हङकङमा लगभग ५ अर्ब डलरको आइपीओ जारी गर्न लागेको विद्युतीय सवारी साधनको ब्याट्री उत्पादक कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी वा सीएटीएलले पनि आफ्नो सेयरलाई समर्थन गर्न ८ अर्ब युआन जति छुट्याएको बताएको छ ।


