अध्यक्ष ढकालको घोषणाः अब विदेशी लगानी लक्ष्य १ अर्ब डलर!


अध्यक्ष ढकालको घोषणाः अब विदेशी लगानी लक्ष्य १ अर्ब डलर!

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र ढकालले विदेशी प्रत्यक्ष लगानी (FDI) बढाउने लक्ष्यसहित महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्। महासंघको ५८औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले सन् २०३० सम्ममा नेपालमा १ अर्ब अमेरिकी डलर बराबरको FDI भित्र्याउने लक्ष्य लिएको घोषणा गरे।

हाल नेपालको कुल गार्हस्थ उत्पादन (GDP) को ०.२ प्रतिशत मात्र FDI भित्रिरहेको उल्लेख गर्दै ढकालले यो अनुपात अत्यन्तै न्यून भएको र आगामी वर्षहरूमा यसलाई उल्लेखनीय रूपमा वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखिने बताए।

“नेपाल अब आर्थिक संकटको चरणबाट बाहिरिएको छ। अहिले हामी सुधारको यात्रामा छौं र अबको लक्ष्य दीगो आर्थिक समृद्धि हो,” ढकालले भने। उनले आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई अझ सक्रिय बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र सरकारी–निजी साझेदारीलाई मजबुत बनाउने कुरामा जोड दिए।

तीन प्रमुख कार्यदिशा:

ढकालले आगामी कार्यकालका लागि तीनवटा प्रमुख क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए—विदेशी लगानी अभिवृद्धि, वित्तीय पहुँचको विस्तार र डिजिटल अर्थतन्त्रको प्रवर्द्धन।

उनले अनौपचारिक अर्थतन्त्रको आकार घटाउनका लागि अध्ययन र कार्यान्वयन सुझाव दिने आयोग गठनको प्रस्ताव समेत अघि सारे। “अहिलेसम्म हामीले अनौपचारिक क्षेत्रलाई संस्थागत रुपमा मूल्यांकन गर्न सकेका छैनौं। यसले कर प्रणालीदेखि बैंकिङ पहुँचसम्म असर पुर्‍याइरहेको छ,” उनले स्पष्ट पारे।

महासंघले अब नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाउने, डिजिटलाइजेसनलाई संस्थागत गर्ने र लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरमा रोडशो सञ्चालन गर्ने तयारी पनि गरेको छ।

निजी क्षेत्रको सशक्तिकरणमा जोड

अध्यक्ष ढकालले निजी क्षेत्रले ‘नेपाल अब सक्दैन’ भन्ने मानसिकता त्यागेर ‘नेपाल सक्छ’ भन्ने आत्मविश्वासको विकास गर्नुपर्नेमा जोड दिए। “हामीले चुनौतीहरूलाई अवसरमा बदल्ने समय आएको छ,” उनले भने।