काठमाडौं — सामाजिक सञ्जाल र अनलाइन माध्यममार्फत ठगी गर्ने गतिविधि तीव्र रूपमा बढ्न थालेपछि नेपाल प्रहरीको साइबर ब्युरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
ब्युरोद्वारा जारी सूचनामा भनिएको छ कि हाल विभिन्न लोभलाग्दा अफर र शेयर बजारसम्बन्धी लिंकमार्फत ".exe" फाइल डाउनलोड गर्न उक्साउने प्रवृत्ति बढ्दै गएको छ। यस्ता फाइलहरू इन्स्टल गरेमा प्रयोगकर्ताले आफ्नो बैंक खातासहित वालेट सेवाहरू जोखिममा पार्न सक्ने खतरा रहेको ब्युरोको चेतावनी छ।
ब्युरोले यस्तो लिंकमा गरिएको क्लिकबाट प्रयोगकर्ताको खातामा असामान्य गतिविधि देखिने, खाता हैक हुने वा निलम्बनमा पर्ने सम्भावना रहने उल्लेख गरेको छ। साथै, 'The Alert' वा 'AT_Alert' जस्ता शंकास्पद शॉर्ट कोडमार्फत पठाइएका SMS मा आएको लिंकमा क्लिक नगर्न र ती लिंक अरूसँग पनि शेयर नगर्न अनुरोध गरिएको छ।
साइबर ब्युरोले यस्ता हानिकारक लिंक वा एप्लिकेसनहरू मोबाइल, ल्यापटप वा अन्य स्मार्ट उपकरणहरूमा इन्स्टल नगर्न सुझाव दिएको छ। यसैगरी, कुनै पनि अनलाइन प्रस्ताव वा सूचनाको सत्यता पुष्टि नगरी अगाडि नबढ्न समेत आग्रह गरिएको छ।
सुरक्षाका दृष्टिले व्यक्तिगत जानकारी, बैंक विवरण तथा पासवर्डहरू गोप्य राख्न र अनधिकृत स्रोतहरूबाट आएका सूचना वा फाइलहरू नखोल्न ब्युरोको विशेष अनुरोध छ।


