अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि विभिन्न देशहरूमाथि नयाँ आयात शुल्क (ट्यारिफ) लागू गरेका छन्। विशेषगरी चीनबाट आयात हुने वस्तुहरूमा १०४ प्रतिशतसम्मको उच्च शुल्क लगाइएको छ, जुन हालसम्मकै कडा आयात करको रूपमा हेरिएको छ।
राष्ट्रपति ट्रम्पले “पारस्परिक व्यापार” को आधारमा यस्तो निर्णय लिएको दाबी गरेका छन्। उनले विभिन्न देशहरूले अमेरिकाली उत्पादनमाथि लगाउँदै आएका शुल्कहरूको जवाफस्वरूप नयाँ ट्यारिफ नीतिहरू अघि सारेका हुन्।
यस कदमले दशकौँदेखिको विश्व व्यापारको संरचनामा धक्का पुर्याएको छ। अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार अमेरिकी नीतिले व्यापार युद्धलाई झन् चर्काउने जोखिम बढेको छ। यसको असरले विश्वव्यापी आर्थिक मन्दीको डरसमेत पैदा गराएको छ।

