काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर ४.९ प्रतिशत र नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो ।
अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडिबीले जनाएको छ । अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एसिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत र सन् २०२६ मा ४ दशमलव ७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।


