काठमाडौँ — नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका विषयमा अर्थराजनीतिक बजारमा चर्चा–परिचर्चा चुलिए पनि सिफारिस समितिको बैठक दुई सातामा एक पटक पनि बसेको छैन । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ । तर महाप्रसाद अधिकारीको कार्यकाल आइतबार सकिँदासमेत नयाँ गभर्नर नियुक्तिमा ढिलासुस्ती गरिरहेको सरकारले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कामु गभर्नरको जिम्मा दिएको छ ।
मन्त्रिपरिषद्ले १६ दिनअघि ११ चैतमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन् । सिफारिस समितिका सदस्यलाई पत्र दिन नै ६ दिन लागेको थियो । चैत १७ मा पत्र बुझे पनि सोमबारसम्म सिफारिस समितिको बैठक बस्न सकेको छैन ।

