काठमाडौं : अब सहकारीहरूले जथाभाबी ऋण दिन र बचत संकलन गर्न नपाउने भएका छन्। ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१’ स्वीकृत भएसँगै नेपाल राष्ट्र बैंकले कर्जा र बचत संकलनको सीमा तोकेको हो।
सहकारीका प्रतिनिधिहरूले यस्तो सीमा राष्ट्र बैंकले तोक्न नहुने विरोध गर्दै आएका थिए। केन्द्रीय बैंकले सुझाव समेत मागेको थियो। सहकारीको बचत रकम र कर्जा दुरुपयोगबाट विकृति आएर सर्वसाधारण मर्कामा परेपछि कडाइ स्वरूप शुक्रबार मापदण्ड सार्वजनिक गरेको हो। केन्द्रीय बैंकको सञ्चालक समितिको चैत ४ गतेको बैठकले यस्तो स्वीकृत गरेको हो।


