काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चूडामणि चापागाईँलाई सीईओमा नियुक्त गरेको हो । उक्त निर्णय अनुसार राजश्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।
नेप्से सीईओका लागि गत फागुन १२ मा पहिलोपटक आवेदन माग हुँदा १२ जनाले आवेदन दिएका थिए । तीमध्ये यही चैत ३ मा अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले ५ जनाको नाम सिफारिस गरेको थियो। उक्त सूचीमा चापागाईँ पहिलो नम्बरमा थिए। उनीसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सूचीमा थिए ।


