काठमाडौं । स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र मागेर लगानी गर्न आग्रह गर्दै आएको लगानी बोर्ड नेपालले अर्काे विकल्पबाट पनि लगानी आकर्षित गर्ने तयारी गरेको छ ।
विभिन्न परियोजना सूचीकृत गरेर आशयपत्र आह्वान गर्दासमेत लगानीकर्ताले त्यस्ता परियोजनामा रुचि नदेखाएपछि बोर्ड सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ मा भएको ‘स्वीस च्यालेन्ज विधि’बाट लगानी आकर्षित गर्ने बाटोमा जान लागेको हो ।
यस विधिअन्तर्गत आशयपत्र आह्वान गर्ने सूचीमा नरहेका परियोजनामा लगानीकर्ताले लगानी प्रस्ताव गर्न सक्छन् । सम्बद्ध निकायले त्यही परियोजनाका लागि अन्य प्रतिस्पर्धी प्रस्ताव पनि मगाएर प्रतिस्पर्धाका आधारमा परियोजना विकास गर्न दिने तरीका स्वीस च्यालेन्ज विधि हो ।
सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ दफा २८ मा स्वीस च्यालेन्ज विधिको प्रावधान छ । सरकारले गत वैशाखमा तेस्रो लगानी सम्मेलन गर्दा सूचीकृत परियोजना विकासका लागि आशयपत्र माग गरेको थियो । त्यसरी आशयपत्र आह्वान गर्दा लगानीकर्ताले खासै चासो नदिएपछि विकल्प खोज्न थालिएको हो ।


