काठमाडौँ, चैत १० गते । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झन्डै साढे १३ अर्ब रुपियाँ भुक्तानी गरेको छ । सामाजिक सुरक्षा योजनामा योगदान गर्न सुरु गरेयता विभिन्न चार योजना अन्तर्गत दुई लाख दुई हजार ९०६ योगदानकर्तालाई १३ अर्ब ३७ रुपियाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।
सामाजिक सुरक्षा योजना २०७५ मङ्सिर ११ गते सुरु गरे पनि २०७६ साउन १ देखि कोषमा रोजगारदाता र योगदानकर्ताले रकम जम्मा गर्न थालेका हुन् । कोषका अनुसार २०७६ साउनदेखि २०८१ चैतसम्म कोषमा योगदान गरेर विभिन्न चार वटा योजनामा भुक्तानी लिनेमध्ये सबैभन्दा धेरै वृद्धावस्था सुरक्षा योजना अन्तर्गतका छन् । सो योजना अन्तर्गत सो अवधिसम्म एक लाख एक हजार ७५५ योगदानकर्ताले ११ अर्ब २० करोड ८० लाख ९४ हजार ३९१ रुपियाँ भुक्तानी लिएको कोषले जनाएको छ ।


