चीनले अनुदानमा दिएको एक अर्ब ५६ करोडको कोभिड खोप नष्ट गर्न महाभारत


चीनले अनुदानमा दिएको एक अर्ब ५६ करोडको कोभिड खोप नष्ट गर्न महाभारत

काठमाडौँ — चीनले अनुदानमा दिएको डेढ अर्ब रुपैयाँ बराबरको ४० लाख ‘डोज’ कोभिड खोपको म्याद सकिएको १५ महिना बिते पनि सरकारले अझै नष्ट गर्न सकेको छैन । ती खोप अहिले राजधानीको टेकुस्थित केन्द्रीय खोप भण्डारमै राखिएको छ । चीनको सिनोभ्याक कम्पनीको भेरोसिल खोप २०७८ चैत १२ र १४ मा नेपाल ल्याइएको थियो । ती खोपको म्याद २०८० मंसिर र पुसमा सकिएको हो ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदन २०८१ अनुसार उक्त खोपको मूल्य १ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ रहेको छ । कोभिडका बेला ल्याइएको १९ हजार ४ सय ८० ‘डोज’ भिसिल्ड खोपको पनि म्याद सकिसकेको छ । यी खोप पनि टेकुको खोप भण्डारमै राखिएको छ । थप १ लाख १८ हजार मात्रा फाइजर खोपको म्याद आगामी सेप्टेम्बरमा सकिँदै छ । फाइजर खोप भने प्रदेशको ‘कोल्ड चेन’ र केही ठूला अस्पतालमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् ।

Read More