ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साना जलविद्युत् आयोजनाका समस्या समाधान गर्न नीतिगत सुधार गरिने बताएका छन्। ‘ग्रिन इनर्जी आन्टरप्रेनर नेपाल’ ले आयोजना गरेको ‘साना जलविद्युत् आयोजनाको दिगो सञ्चालनसम्बन्धी चुनौती’ विषयक कार्यक्रममा मन्त्री खड्काले साना जलविद्युत् आयोजनाका समस्या एक ठाउँमा राखेर छलफल गरिने र आवश्यक संशोधन गर्न सरकार तयार रहेको बताए।
“ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्छ। सरकार साना जलविद्युत् आयोजनाका समस्या समाधान गर्न निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ,” मन्त्री खड्काले भने। साथै, संस्थागत तहमा रहेका बेतिथिहरू पनि क्रमशः समाधान गरिने उनको भनाइ छ।

