काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१ को तुलनामा यो वर्षको पहिलो ८ महीनामा नेपालले प्राप्त गरेको विदेशी लगानी प्रतिबद्धता उल्लेख्य बढेको देखिएको छ ।
उद्योग विभागका अनुसार चालू आव २०८१/८२ को फागुनसम्ममा ४४ अर्ब ६६ करोड ३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५३ प्रतिशतले बढी हो । गत आवको फागुनसम्ममा २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानी प्रतिबद्धताको आकार बढे पनि वास्तविक लगानी भने निकै कम हुने गरेको छ ।
गत आवको पहिलो ८ महीनामा विभागले २५३ ओटा परियोजनाका लागि विदेशी लगानी स्वीकृति गरेको थियो । चालू आवमा रकम र परियोजना संख्या दुवै बढेको पाइएको छ । यो आवको ८ महीनामा ४२७ परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको छ । सरकारले विदेशी लगानी आकर्षित गर्न तेस्रो लगानी सम्मेलन २०८१ का क्रममा र पछिल्लो समय अध्यादेशबाट लगानीसम्बन्धी विभिन्न कानून तथा नियममा सुधार गरेको छ ।


