काठमाडौं– गत आवको तुलनामा चालु आर्थिक वर्षको सात महिना (माघ मसान्त) सम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित हुने कर्जा १.५ प्रतिशत विन्दुले मात्र बढेको छ ।
राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारेको प्रतिवेदनअनुसार यो माघसम्ममा निजी क्षेत्रमा जाने कर्जा ५.६ प्रतिशतले बढेको छ । यो गत आर्थिक वर्षको यही अवधिका तुलनामा १.५ प्रतिशत विन्दुले धेरै हो । गत वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा ४.१ प्रतिशतमात्र बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार यो माघसम्म २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ । गत वर्ष माघसम्ममा निजी क्षेत्रमा जाने कर्जा एक खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ थियो । यो वर्षका सात महिनामा ८६ अर्ब २५ करोड रुपैयाँ धेरै कर्जा प्रवाह भएको हो ।
वार्षिक विन्दुगत आधारमा भने माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।


