महोत्तरी । एक दशकअघिसम्म वैशाखसम्म चिनी उच्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ । महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजलाई यसपालि क्रसिङ व्यस्त हुनपर्ने फागुनमै उखु अभाव खेप्नु परेको छ ।
एक दशकअघिको तुलनामा खेती निकै घटेपछि उद्योगमा चाँडै उखु अभाव भएको हो । एकदशक अघि जिल्लामा १५ हजार बिघा नाघेको उखुखेती पछिल्ला चार/पाँच वर्षयता ओरालो लाग्दै अब आठ हजार बिघाको सेरोफेरोमा आएको छ । यो पनि पछिल्ला तीन वर्षयता उद्योगले उखुको भुक्तानी क्रमशः सहज बनाउँदै लगेपछि बढेको खेतीले अहिले आठ हजार बिघा पुगेको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवावाहा बताउँछन् । तीन वर्षअघि जिल्लामा खेती झरेर पाँच हजार बिघामा ओर्लेको कुशवाहा सम्झन्छन् ।
'उखुको उचित मूल्य नपाउँदा र भुक्तानी पनि वर्षौं पर्खनुपर्दा किसान आजित भएर खेती छोड्दै गएका हुन्,' कुशवाहा भन्छन्, 'पछिल्ला तीन वर्षयता उद्योगले भुक्तानी सहज बनाएपछि केही बढेर अहिले आठ हजार बिघाको सेरोफेरोमा खेती पुगेको हो ।' यद्यपि मूल्य उचित तरिकाले नतोकिँदा किसानको मन मरेको उनको भनाइ छ ।


