चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध पञ्चकन्या स्टिल्सले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा लिएको सामग्रीको भुक्तानी नगरेको भन्दै कम्पनीले कानुनी कारबाही अघि बढाएको हो।
पञ्चकन्या स्टिल्सका अनुसार, धुर्मुस-सुन्तली फाउण्डेसनले रंगशाला निर्माणका लागि पटक-पटक गरी छड लिएको तर त्यसको रकम तिर्न बाँकी रहेको छ। कम्पनीले ५२ लाख दुई हजार ५५५ रुपैयाँ भुक्तानी नपाएको दाबी गर्दै लेनदेन कसूरअन्तर्गत मुद्दा हालेको हो।
धुर्मुस-सुन्तली फाउण्डेसनले अन्य १३६ कम्पनीलाई भुक्तान गर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँ समेत तिर्न सकेको छैन। परियोजनाका लागि देश-विदेशबाट सहयोग उठाइए पनि रकम व्यवस्थापनमा समस्या देखिएपछि रंगशाला निर्माण कार्य अलपत्र परेको थियो।

