काठमाडौँ — सरकारले बुधबार संसद्मा अध्यादेश प्रस्तुत गर्ने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ५ वटा अध्यादेश प्रस्तुत गर्ने भएको छ । सत्तारुढ दलले अध्यादेश स्वीकृतिका लागि आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेको छ ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई एसएमएस पठाएर ह्विप जारी गरेका हुन् । 'फागुन २१ गते दिउँसो १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,' प्रमुख सचेतक घिमिरेको एसएमएसमा भनिएको छ । त्यस्तै एमालेले समेत सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रतिनिधिसभामा कांग्रेसका ८८ र एमालेका ७८ सांसद छन् ।

