वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा ८ अर्ब ६८ करोड रुपैयाँ बराबरको २२ करोड ६४ लाख ८ हजार २२९ किलोग्राम धान आयात भएको छ।
गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो। गत आवको सोही अवधिमा यो नाका हुँदै ४ अर्ब ९१ करोड रुपैयाँबराबरको १३ करोड १८ लाख ५९ हजार ४१६ किलोग्राम धान आयात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए। ‘गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ।’
कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ। चालु आवको सात महिनामा यो नाका हुँदै १ अर्ब ३५ करोड रुपैयाँबराबरको १ करोड ३३ लाख ७४ हजार ८२६ किलोग्राम चामल आयात भएको छ।


