काठमाडौं । सरकारले कार्यान्वयनमा ल्याएको स्टार्टअप उद्यम कर्जा लिन प्रारम्भिक छनोटमा परेका उद्यमीले व्यावसायिक योजना प्रस्तुत गर्न शुरू गरेका छन् । स्टार्टअप उद्यम कर्जा दिन सरकारले माग गरेको आवेदनपछि छनोट भएर प्रारम्भिक सूचीमा परेका व्यवसायीले योजना प्रस्तुत गर्न शुरू गरेका हुन् ।
चालू आर्थिक वर्ष (आव) २०८१/८२ को स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत ५ हजार १६१ जना उद्यमीले परियोजना प्रस्ताव पेश गरेका थिए । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भदौ ११ गते यस्तो कर्जा दिन परियोजना प्रस्ताव गर्न आह्वान गरेको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले त्यसअनुसार सूचीमा छनोट भएकाले अहिले व्यावसायिक योजना प्रस्तुत गर्न शुरू गरिसकेको जानकारी दिए ।
कर्जा लिनका लागि संक्षिप्त सूची (सर्ट लिस्ट)मा परेका १ हजार ३१४ उद्यमीले चैत ११ गतेसम्म यस्तो योजना प्रस्तुत गर्ने अवधि रहेको उनले जानकारी दिए । सरकारले चालू आवमा ६०० जनालाई स्टार्टअप उद्यम कर्जा दिने भनेको छ । सरकारले गत आव २०८०/८१ देखि कार्यान्वयनमा ल्याएको स्टार्टअप उद्यम कर्जा दिन प्रतिष्ठान र सम्बद्ध अन्य निकायबीच सम्झौता भइसकेको छ ।


