काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने व्याख्या गरेको छ । सर्वोच्च अदालतको बृहत्पूर्ण इजलासले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको निवेदनमा यस्तो व्याख्या गरेको हो ।
सर्वोच्चको व्याख्या
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमेत न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारंगा सुवेदीसहित चार जना न्यायाधीशले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लागू नहुने सो फैसला गरेका हुन् । तर, न्यायाधीश टेकप्रसाद ढुंगानाको भने ‘सो रिट हेर्ने क्षेत्राधिकार बृहत्पूर्ण इजलासलाई नरहेकाले संयुक्त इजलास नै सो रिट हेर्न सक्षम रहेको र रिट निवेदन संयुक्त इजलासमै फिर्ता गर्नुपर्ने’ फरक राय रहेको छ । स्वावलम्बन लघुवित्तले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित हुने श्रम अदालतको फैसला बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।


